अरुण चौधरी शुक्रबार, आश्विन २२, २०७८
मृत्यु भैसकेको व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता वापातको रकम निकालेर खाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरमा कार्यरत ५ जना कर्मचारी विरुद्ध बुधबार भ्रष्टचार मुद्दा दर्ता गरेको छ ।
उदयपुरको बेलका नगरपालिका साविक रामपुर ठोक्सिला गाउँ विकास समितिमा सचिब पदमा कार्यरत रहेको बेला उनीहरुले मृत्यु भैसकेको व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ताको रकम आफैले निकालेर खाएका थिए । अख्तियारले बुधबार विशेष अदालतमा दायर गरेको मुद्दामा कर्मचारी माधब खतिवडा, विशाल सुन्दास, केशव प्रसाद आचार्य, लोकेन्द्र कार्की र पुष्पराज सिग्देल माथि भ्रष्टचार लगाईएको छ ।
आर्थिक वर्ष२०६३/०६४ देखि २०७१/०७२ सम्म सामाजिक सुरक्षा भत्ता वापतको १६ लाख ४० हजार ५ सय रुपैया ति कर्मचारीहरुले दुरुपयोग गरेको अख्तियारको अभियोग छ ।
सो अवधिमा सामाजिक भत्ता लिदै आएका व्यक्तिहरुको मृत्यु भए पश्चात पनि घटना दर्ता गरेर लगत कट्टा नगरी मृतकको नाममा भरपाई बनाएर उनीहरुले रकम आफैले लिएका थिए । अख्तियारले साविक रामपुर गाविसका तत्कालिन सचिब केशब कुमार आचार्य – हाल मालपोत कार्यालय उदयपुर ) विरुद्ध ९ लाख ९० हजार, र तत्कालिन सचिब – हाल रौतामाई गाउँपालिका उदयपुरका अधिकृत माधब खतिवडा विरुद्ध ३ लाख १४ हजार दुरुपयोगगरि भ्रष्टचार गरेको अभियोग लगाएको छ ।
त्यसैगरि तत्कालिन सचिब लोकेन्द्र कार्की – हाल सप्तरी मालपोत कार्यालय ) विरुद्ध ७८ हजार, तत्कालिन सचिब विशाल सुन्दास – हाल तथ्यांक कार्यालय उदयपुर ) विरुद्ध ८२ हजार र तत्कालिन सचिब पुष्पराज सिग्देल – हाल अवकास प्राप्त ) विरुद्ध १ लाख ७६ हजार रुपैया दुरुपयोग गरेको भन्दै त्यति नै विगो राखी अख्तियारले मुद्दा चलाएको प्रवक्ता नारायण प्रसाद रिमालले बताए ।