कान्छो खवर । आइतबार, चैत्र ३०, २०८१

गाईघाट ३१ चैत ।
त्रियुगा नगरपालिकाको वडा नम्बर ९ स्थित सुख्खाग्रस्त क्षेत्र गहिरुन र झिल्के टोलका ५० घरपरीबारलाई आइतबार देखि खानेपानीको ब्यबस्था गरिएको छ ।
बिगत ८ बर्ष अगाडि देखि सुरु भएको रातमाटे लिफ्टिङ सामुदायिक सरसफाई आयोजनाबाट तत्कालकोलागि उक्त क्षेत्रमा खानेपानीको लागि जडान गरिएको धाराबाट पानी बितरण गरिएको हो ।
बजेट अभावमा उक्त खानेपानी आयोजनाको निर्माणको काम कछुवाको गतिमा भैरहेको छ ।पाँच बर्ष भित्र सम्पन्न गरिसक्नुपर्ने गरि झन्डै ८ करोडको लागतमा उपभोक्ता समुह मार्फत निर्माणको सुरु भएको हो ।तर बजेट बिनियोजन नभए पछी उक्त योजनाको काम हुन नसकेको उपभोक्ता समितिका सचीव बद्री गेलालले बताए ।
हामीले झन्डै ५० प्रतिशत काम गरिसकेका छौ , बजेटको ब्यबस्था नभएको कारण काम राम्रो संग हुन सकेन ।उनले भने ।कार्यालयबाट अहिले सम्म ३ करोड ५० लाख जति भुक्तानी हुनु पर्नेमा अहिलेसम्म १ करोड ४३ लाख मात्र भुक्तानी भएको उनलेे बताए ।
तत्कालीन कार्यालय प्रमुख सत्यनारायण साहको समयमा सुरु भएको उक्त योजना सन्चालन गर्न अहिले साह सरुवा भएर प्रदेश कार्यालयमा गएको भए पनि उनै साह अहिले आएर काम सुचारु गरेको गेलालले बताए ।
योजना सुस्त गतिमा भैरहेको र सुख्खाग्रस्त क्षेत्रका बासिन्दालाई पानी खुवाउन निकै दबाब परे पछि सरुवा भएर गएका प्रमुख साह आएर एक साताको मेहनत र खटाई पछी आज देखि बस्तीमा पानी बितरण गर्न सकिएको उनले बताए ।
खानेपानी सरसफाइ डिभिजन कार्यालय खोटाङमा भए पनि गाईघाटमा रहेको फिल्ड अफिसमा कार्यालय प्रमुख नबस्नु र पर्याप्त जनशक्ति नभएको कारण स्थानिय बासिन्दाको पानीको समस्या हल हुन सकेको थिएन ।
पानीको अभाव पछी त्रियुगा नगरपालिकाले सुख्खाग्रस्त क्षेत्रमा दैनिक दुई पटक पानी ट्यान्कर मार्फत सडक क्षेउमा प्लास्टिक ड्र्म राखेर स्थानियहरुकोलागि पानीको ब्यबस्था गर्दै आएको मेयर बसन्त बस्नेतले बताए ।
उनले बिगत सात महिना देखि सो क्षेत्र सुख्खाग्रस्त भएर पानीको अभाव भए पछी नगरले पानीको ब्यबस्था गर्दै आएको बताए ।
फिल्ड अफिसका तत्कालीन प्रमुख साहले बजेट अभावमा निकै सुस्त गतिले काम अघि बढी रहेको बेला गैरुन र झिल्के टोलमा पानीको हाहाकार भएको जानकारी आए पछी आफै खटेर काम गरेको बताए ।
म सरुवा भएर अन्यत्र गए पनि मैले सुरु गरेको योजना आफै लागि परेर फत्ते गरु भन्ने उदेश्यले एक साता देखि काम गरिरहेको साहले बताए
२०७३ सालमा सुरु भएको उक्त खानेपानी योजनाले सो क्षेत्रका झन्डै ११ सय घरधुरी लाभान्वित हुने उनले बताए ।दक्षिणी त्रियुगा नदिमा योजनाको मुहान रहेको पानी ट्यान्कीको क्षमता ४ लाख५० हजार लिटर रहेको छ ।