कान्छो खवर । शनिबार, माघ १५, २०७८
माघ १५ काठमाण्डौं
पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटरमा अहिले ९ बजेका लागी बोलाइएको छ । आजको बैठक स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न बोलाइएको हो । सत्ता गठबन्धनमा बैशाखमा निर्वाचन गर्ने विषयमा सहमति जुटन सकेको छैन । निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई सुझाव दिइसकेको छ । त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवा तयार भएपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहमत छैनन ।
उनिहरु संघको निर्वाचन पहिले गर्ने पक्षमा छन् । त्यसका लागी स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने उनिहरुको तयारी छ । प्रधानमन्त्री देउवालाई कांग्रेसभित्रै निर्वाचन बैशाखमै गर्न दबाव बढेको छ । देउवाले समेत वैशाखमै निर्वाचन गर्ने मुडमा छन् । प्रधानमन्त्रीको मुड बुझेका नेपाल र दाहाल पनि निर्वाचन वैशाखमा गर्न सहमत भएको स्रोतले बतायो । प्रधानमन्त्री शेरबहादुर देउवाले आफु निकट नेताहरुलाई वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने पक्षमा आफु रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यसमितिको बैठकअघि उनले उपसभापति पुर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासंग छलफल गर्दै स्थानीय तहको निर्वाचन वैशाखमै हुने भन्दै तयारीमा जुटन निर्देशन दिएका थिए ।
उनले संविधानमा लेखिएको भन्दा दायां बायां नहुने भन्दै बजार हल्लाको पछि नलाग्न समेत आग्रह गरेका थिए । देउवाले गठबन्धनका अरु नेताहरुले स्थानीय तहको निर्वाचन गर्न नमानेको भन्दै उनिहरुलाई मनाउने कोसिसमा आफु रहेका बताएको उनि निकट स्रोतले जानकारी दियो । माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि बैशाखमै स्थानीय तहको निर्वाचन गर्न सहमत भएको स्रोतले बतायो । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री देउवा र नेता नेपालसंग भएको छलफलपछि उनले माओवादी मन्त्रीहरुसंग बैठक गरेका थिए । उनले मन्त्रीहरुलाई चांडै आचारसंहित लाग्न सक्ने भन्दै लोकप्रिय काम गर्न निर्देशन दिएका थिए ।
दाहालले चुनाव सार्दा चौतर्फी दबाव झेल्नुपर्ने भएकाले प्रधानमन्त्री देउवा बैशाखमै चुनाव गर्ने पक्षमा रहेको भन्दै आफु पनि त्यसमा सहमत भएको बताएका थिए । शुक्रबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासंग समेत छलफल भएको थियो । थपलियासंगको छलफलपछि नेताहरुले निर्वाचनको तयारी अघि बढाउन आग्रह गरेका थिए । अहिले बस्ने पांच दलीय गठबन्धनको बैठकले आगामी बैशाख वा जेठमा स्थानीय तहको निर्वाचन गर्नेमा सहमति जुटाउने सम्भावना छ ।
निर्वाचन आयोग स्थानीय तहको चुनाव बैशाखमै गर्नुपर्ने पक्षमा छ । प्रमुख प्रतिपक्ष दल एमालेले पनि बैशाखमै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई दबाव दिइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले समेत निर्वाचन समयमै गर्न सुझाव दिएकी छन् । प्रधानमन्त्री देउवाले भेटमा आफु जसरी पनि निर्वाचन बैशाखमै गर्ने पक्षमा रहेको बताएका थिए । उनले संसदको अवरोध खुलाउनका लागी सहजीकरण गरिदिन राष्ट्रपतिसंग आग्रह गरेको स्रोतले बतायो ।