०८ पुष २०८१, सोमबार

प्रहरी कार्यालय उदयपुरको नव निर्मित भवनहरुको उदघाटन

कान्छो खवर । सोमबार, फाल्गुण ३०, २०७८

३० फाल्गुन उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरको नव निर्मित भवनहरुको संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा समुदघाटन भएको छ । आज बिहान ९ बजे आयोजित एक कार्यक्रम बीच त्रियुगा नगरपालिका-१० बोक्से स्थितमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको नवनिर्मित कार्यालय, व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुखको निवास, सिनियर प्रहरी अधिकृत आवास, प्रहरी भान्सा घर तथा नागरिक सहायता कक्षको प्रहरी महानिरीक्षक थापा क्षेत्रीले समुदघाटन गर्नु भएको हो ।

नवनिर्मित भवनहरुको उद्घाटन तथा निरिक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नयाँ भवनको निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनु हुने सम्पूर्णमा धन्यवाद दिनुका साथै नयाँ भवनबाट पाउने प्रहरी सेवाको आशा जनतामा पनि बढ्ने भएकोले प्रहरीले प्रदान गर्ने सेवाको गुणस्तरीयतालाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । २४ सै घण्टा ड्युटीमा खटिनु पर्ने प्रहरी कर्मचारीहरुलाई नयाँ भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोस र उर्जाका साथ प्रहरी काम कारवाहीलाई अगाडि बढाउन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो । साथै सुरक्षा, जनता र प्रहरीको संयुक्त जिम्मेवारी भएकाले अपराध नियन्त्रण कार्यमा प्रहरीलाई सहयोग गर्न सबैमा अनुरोध समेत गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माण कार्यमा उल्लेखनिय योगदान पुर्‍याउने महानुभावहरुलाई प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुँदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि।सी।ले सुबिधा सम्पन्न भवन प्राप्त भए संगै प्रहरीद्वारा आम नागरिकलाई चुस्त दुरुस्त तथा थप प्रभावकारी ढंगले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।
नेपाल सरकारको नियमित बजेटबाट जिल्ला प्रहरी कार्यालय उदयपुरको हाता भित्र नवनिर्मित कार्यालय भवन, व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुखको आवास, सिनियर प्रहरी अधिकृत आवास, प्रहरी भान्सा घर तथा नागरिक सहायता कक्ष गरी कुल ९ करोड ४९ लाख ९६ हजार ६६८ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्