कान्छो खवर । बिहिबार, पुष २२, २०७८
ताप्ली (उदयपुर) २२ पौष । प्रदेश १ का भौतिक पूवाधार विकास मन्त्री हिमाल कार्कीले उदयपुरको ताप्ली गाउँपालिकास्थित यारी खोलाको पक्की पुलको बुधवार विधिवत् रुपमा उद्घाटन गरेका छन् । प्रदेश सरकारको लगानीमा नुनथला कुमलटार रुपाटार थानागाउँ मार्ग अन्तर्गत सो खोलामा पक्की पुल निर्माण भएकोे हो ।
प्रदेश सरकारले सञ्चालन गरेको योजना समयमै सम्पन्न गरिने प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले बताउनु भयो । यारी खोला मोटरेवल पुल उद्घाटन गर्दै मन्त्री कार्कीले समृद्धिको मापदण्ड थुप्रै होला तर पहाडी क्षेत्रमा सड्क सञ्जाल जोड्नुनै विकासको र समृद्धिको मुख्य आधार रहेको बताउनु भयो । यो पक्कि पुलले नुनथला कुमलटार रुपाटार थानागाउँ राष्ट्रिय राजमार्गसँग जोडिएको छ । यो कुरामा मन्त्री कार्कीले खुशि समेत व्यक्त गर्नु भयो ।
प्रदेश सरकारका हरेक आयोजना समयमै सम्पन्न गर्न आफुहरु प्रतिवद्ध भएको र प्रदेश सरकारले ठेक्का लगाएको पुल समय अवधि भित्रै सम्पन्न हुनु गर्वको कुरा भएको भौतिक मन्त्री कार्कीले बताउनु भयो । पुल निर्माण सम्पन्न भएपछि कुमलटार रुपाटार थानागाउँका हजारौ स्थानीय लाभान्वित भएका छन् ।
नवनिर्मित यारी खोलाको पुलको उद्घाटन गर्दै उनले कोभिडको बेलामा पनि स्थानिय निकाय, निर्माण समुह र स्थानिय जनताको सक्रियताले यो पुल समयमै निर्माण हुन सकेको बताउदै यो सक्रियतालाई तीव्रता दिनसके विकास गाउँ गाउँ सम्म पुग्ने मन्त्री कार्कीले जिकिर गर्नु भयो ।
निर्धारित समयमानै निर्माण भएको पुलको लम्बाइ ६० मिटर र चौडाइ साढे ११ मिटर छ । प्रदेश सरकारको ८ करोड ७३ लाख ८५ हजार ५ सय १४ रुपैया २९ पैसा लागतको सो पुल १८ महिनामा डिजाईन तथा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो । पुल निर्माणपछि कुमलटार रुपाटार वारिपारि गर्न सहज भएको छ । यसअघि वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले यारी खोलामा वारपार गर्नुपर्ने बाध्यता थियो । पुल निर्माण भएसँगै ताप्ली बासीलाई यात्रा गर्न सहज हुने छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उदयपुरको नुनथला कुमलटार रुपाटार थानागाउँ माझखर्क रौता साउने सिद्धिपुर चौदण्डी हुदै बेलका चतरा सम्म महाभारत मार्गलाई बहुबर्षे योजनामा राखेर कार्य गर्न सके उदयपुरको माथिल्लो भेगमा रहने जनतालाई सहज हुने बताउनु भयो । यो कार्य गर्नकै निम्ति र यहाँको भौगोलिक अवस्थालाई अध्यनको निम्ति मन्त्रालयका सचिव सहित उच्च स्तरीय कर्मचारीको टोलि पनि भुगोलमा उपस्थिति गराएको मन्त्री कार्कीले बताउनु भयो ।
“विकास निर्माणलाई निरन्तरता दिने प्रदेश सरकारको अभियान हो”, उहाँले भन्नुभयो, “आफू दल, गुट, उपगुटका आधारमा नभई आवश्यकताका आधारमा विकास निर्माणको अभियानलाई अगाडि बढाउने छु ।”
कार्यक्रममा ताप्ली गाउँपालिकाका प्रमुख उद्धव सिंह थापा, भौतिक पूवाधार विकास मन्त्रालय प्रदेश १ सचिव मोहन राज चापागाइ, उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादव स्थानिय राजनितिक दल र पुल निर्माणको लागी सहयोग गर्ने स्थानीय जग्गादाताहरु लगायतको उपस्थिति रहेको थियो ।
सो पुलको शिलान्यास सोही क्षेत्रका प्रदेश सभा सदस्य कला घलेले २०७६ चैत्र ६ गते गरेका थिए ।